परिचय

बागमती प्रदेशको परिचय

गाउँपालिका र नगरपालिका

यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाण्डौं, ललितपुर र भरतपुर तीन महानगरपालिका हरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।

यस प्रदेशका गाउँपालिका र नगरपालिकाको सङ्ख्या नेपालको कुल गाउँपालिका र नगरपालिका सङ्ख्याको १५.८० प्रतिशत छ । काठमाडौं र भक्तपुर जिल्ला गाउँपालिका विहीन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसङ्ख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्याले २०.७४ प्रतिशत ओगट्छ । काठमाडौंका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसङ्ख्याको ३१.२२ प्रतिशत ओगट्छ । यसैगरी भूगोलमा सबैभन्दा धेरै मकवानपुरको ११.७६ प्रतिशत छ ।

हावापानी

प्रदेशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले यहाँ सबै प्रकारको हावापानी पाइन्छ ।

महत्वपूर्ण धार्मिक स्थानहरू

यस प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ (काठमाडौं), बूढानीलकण्ठ(काठमाडौं), स्वयम्भूनाथ(काठमाडौं), चागुँनारायण (भक्त्तपुर), गोसाइँकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भीमेश्वर (दोलखा), लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।

प्रमुख ऐतिहासिक गढीहरू

मकवानपुर गढी : सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्त्विक र सामरिक दृष्टिले पनि महत्वपूर्ण रहेको यो गढी आजको मकवानपुर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर-पूर्वमा पर्छ। मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो ।

सिन्धुलीगढी : सिन्धुली जिल्लामा रहेको सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ । काठमाडौंबाट करिब १ सय ५० किलोमिटर दक्षिण पूर्वमा ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र ऐतिहासिक रुपमा सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्म लाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार' गीतको सम्झना आउँछ।

रसुवागढी :नेपाल-चीन सीमानामा पर्ने रसुवागढी करिब डेढ शताव्दी पुरानो ऐतिहासिक गढी नेपाल चिन बीचमा रहेको महत्वपूर्ण सुरक्षा गढी मानिन्छ । नेपाल चीनबीचका व्यापारिक सम्बन्धलाई जोड्ने यस गढीको वि.सं १९१२ सालमा निर्माण भएको थियो।

प्रमुख ताल र कुण्डहरू

यो प्रदेश ताल, कुण्ड तथा सिमसारीय महत्त्व राख्ने प्रदेश हो। यस प्रदेशमा २० हजारी ताल, गोसाइँकुण्ड, च्छोरोल्पा हिमताल, जट पोखरी, पाँच पोखरी तथा बहुलाह पोखरीजस्ता महत्वपूर्ण सम्पदाहरू यहा रहेका छन।

प्रमुख हिमश्रृखला र हिमालहरू

यस प्रदेशमा रहेको लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमश्रृंखला गरी दुइवटा हिमश्रृंखला पर्यटनका दृष्टिकोणले महत्वपूर्ण रहेका छन् । नेपालमा ५ हजार मिटर भन्दा माथिका हिमचुचुराको सङ्ख्या ४१४ वटा रहेकोमा यस प्रदेशमा ६१ वटा छन् । यस प्रदेशमा रहेको अग्लो चुचुरा लाङ्टाङ् लिरूङ् ७२२७ मिटर, लाङ्टाङ् र ७२०५ मिटर, गौरीशंकर ७१३५ मिटर उचाइमा रहेको छ ।

प्रमुख नदीहरू

यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू (Sub-basins) र ३३ वटा मुख्य नदीहरू रहेका छन । यी मध्ये सबभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई १६०.१९ कि.मी. रहेको छ भने सबभन्दा छोटो नदी लालबकैया रहेको छ जस्को लम्बाई १.८९ कि.मी छ ।

भू-उपयोगको अवस्था

यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५ हेक्टर) जमिन वनले र ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर) जमिन बन क्षेत्रले ओगटेको छ भने २४.३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको देखिन्छ ।

प्रमुख जातजाति तथा भाषाभाषी

जातिगत रूपमा यस प्रदेशमा मूख्यतः तामाङ (२०.४२ प्रतिशत), पहाडी ब्राह्मण (१८.२८ प्रतिशत), क्षेत्री (१७.२८ प्रतिशत) र नेवार (१६.९२ प्रतिशत) समुदाय रहेका छन् भने १०४ वटा जातिहरू (अन्य समेत) को उपस्थिति १ प्रतिशत भन्दा कम छ ।

प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य कार्य जिम्मेवारी निम्नानुसार रहेका छन् :-

  1. प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय सम्बन्धी

  2. प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन,

  3. प्रदेश सरकारको कार्य विभाजन तथा कार्यसञ्चालन,

  4. प्रदेश सरकारको नीति तर्जुमा, स्वीकृति, मन्त्रिपरिषदको निर्णयको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन,

  5. प्रदेशभित्रको राजनीतिक, आर्थिक, सामाजिक, शान्ति सुव्यवस्था एवं प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी र त्यसको सम्बोधन,

  6. प्रदेश मन्त्रालयहरूका कार्यको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन र नियन्त्रण

  7. मानव अधिकारको संरक्षण र प्रवर्द्धन, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधार

  8. संवैधानिक निकाय तथा आयोग, प्रदेश लोक सेवा आयोग र संघीय तथा प्रादेशिक आयोगसँगको सम्पर्क र समन्वय,

  9. अन्तर प्रदेश परिषद् र संघ तथा अन्य प्रदेश र स्थानीय तहसँगको समन्वय र अन्तरसम्बन्ध

  10. प्रदेशस्तरका आयोग तथा निकायहरूको गठन एवं सञ्चालन र पदाधिकारिहरुको नियुक्ति एवं सेवा, सुविधा सम्बन्धी नीति तथा कानुनको तर्जुमा र कार्यान्वयन,

  11. प्रदेश मन्त्रिपरिषदमा पेश हुने नियम र आदेशको तर्जुमा, स्वीकृति तथा प्रमाणीकरण,

  12. संघीय सरकारको स्वीकृति बमोजिम द्विपक्षीय वा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयन,

  13. प्रदेशस्तरीय मानव संसाधन विकास योजना तर्जुमा र कार्यान्वयन,

  14. प्रदेशस्तरका सरकारी निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र व्यवस्थापन परीक्षण,

  15. प्रदेशको तालिम नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण तथा तालिम केन्द्रसँगको सम्पर्क एवं समन्वय,

प्रदेश निजामती सेवा र अन्य प्रदेश सरकारी सेवा सञ्चालन सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा एवं कार्यान्वयन र अभिलेख व्यवस्थापन ।

null