मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको आधिकारीक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | Office of the Chief Minister and Council of Ministers – Bagamati Province

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९

प्रारम्भिक जीवन

बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूको जन्म वि.सं. २०२७ साल श्रावण १५ गते मकवानपुर जिल्लाको साबिक हर्नामाडी गा.बि.स. वडा नं. ४ हालको हेटौँडा उपमहानगरपालिका वडा नं. १८, दियावतीमा पिता स्व. क्षेमबहादुर बानियाँ र माता प्रेमकुमारी बानियाँको छैटौँ सन्तानका रूपमा भएको हो। आफू जन्मेकै गाउँबाट आधारभूत तहको औपचारिक शिक्षा पूरा गर्नुभएका मुख्यमन्त्री बानियाँले बंशगोपाल माध्यमिक विद्यालय, चौघडा, मकवानपुरबाट माध्यमिक तहसम्मको र मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडाबाट उच्च शिक्षा अध्ययन गर्नुभएको हो। बाल्यकाल देखिनै उहाँमा समुदाय केन्द्रित सोच थियो। परिश्रम गर्नुपर्छ भन्ने र गर्ने बानी हुनुभएका उहाँले सधैँ अनुशासित जीवनशैली आत्मसात् गर्नुभयो।

नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०४४ देखि औपचारिक राजनीतिक यात्रा आरम्भ गर्नुभएका बानियाँ लोकतन्त्र प्रतिको आस्था, सङ्गठनप्रतिको प्रतिबद्धता, निरन्तरता र अनुशासनका कारण वि.सं. २०५१ मा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, वि.सं. २०५२ मा नेपाल विद्यार्थी संघ, मकवानपुरको जिल्ला सहसचिव, वि.सं. २०५५ मा तरुण दल मकवानपुरको जिल्ला सचिव हुँदै वि.सं. २०५६ मा तरुण दल मकवानपुरको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभयो। वि.सं. २०५८ मा नेपाली कांग्रेस, मकवानपुर जिल्ला सदस्य बनेपछि सङ्गठन निर्माण, विस्तार, सुदृढीकरण र नीतिगत बहसमा थप योगदान दिनुभएका बानियाँले वि.सं. २०७२ देखि वि.सं. २०७८ सम्म नेपाली काँग्रेस मकवानपुरको निर्वाचित जिल्ला सभापतिको रूपमा कुशलतापूर्वक जिम्मेवारी पुरा गर्नुभयो। उहाँको सभापतिको कार्यकाल मकवानपुर जिल्लामा नेपाली कांग्रेसको लागि आन्तरिक र बाह्य रूपमा अत्यन्त सफल हुन पुग्यो।

वि.सं. २०५६ देखि निरन्तर रूपमा नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आउनुभएका बानियाँले आफूलाई एक कुशल संगठकको परिचय स्थापित गर्दै वि.सं. २०७८ मङ्सिर १९ गते संघीय संरचना अन्तर्गत नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रथम सभापतिमा निर्वाचित हुनुभयो। हाल उहाँ नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको सभापतिको रूपमा हुनुहुन्छ। उहाँको सभापतित्व कार्यकालमै नेपाली कांग्रेसले बागमती प्रदेशमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा हालसम्मकै उच्च परिणाम प्राप्त गर्न सफल भयो। मुख्यमन्त्री बानियाँ, संविधानसभाबाट संविधान निर्माणको दिशामा देश अघि बढिरहेको अवस्थामा वि.सं. २०६४ सालमा संविधानसभा सदस्यका लागि नेपाली कांग्रेसबाट मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ उम्मेदवार हुनुभयो। पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेपछि वि.सं. २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ मा पुनः उम्मेदवार भई निर्वाचित हुनुभयो ।

संविधानसभा सदस्यका रूपमा संविधानसभामा प्रवेश गरेपछि उहाँले गरिब जनताका पक्षमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण, संविधानमा प्रदेशको स्थापना, अधिकार र सशक्तीकरण, स्थानीय शासन र नागरिक सेवा वितरणमा सुधार जस्ता विषयलाई आफ्नो राजनीतिक बहसको केन्द्रमा राखिरहनुभयो। वि.सं. २०७३ सालमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको राज्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नु भएका उहाँले वि.सं. २०७३ सालमा नै गृह राज्यमन्त्रीको समेत जिम्मेवारी प्राप्त गर्नुभयो। नीति निर्माण, कार्यान्वयन, समन्वय, शान्ति सुरक्षा र सङ्कट व्यवस्थापन जस्ता महत्त्वपूर्ण कार्य सम्पादनमा जनताले महसुस गर्ने गरी आफ्नो पदीय जिम्मेवारी पूरा गर्नुभएका उहाँले वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन स्वच्छ, शान्तिपूर्ण, भयरहित र पारदर्शी रूपमा सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। देश संघीय संरचनाको संस्थागत विकासतर्फ अघि बढ्दै गर्दा वि.सं. २०७४ सालमा मकवानपुर जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको उहाँ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेताको रूपमा सर्वसम्मत चयन हुनभयो।

उहाँले संसदीय दलको नेताका रूपमा संसदीय अभ्यासलाई नीतिगत बहस, जवाफदेहिता र सुशासनतर्फ उन्मुख गराउने प्रयत्‍नलाई निरन्तरता दिई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभयो। तीन वर्ष भन्दा बढी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको नेता रहँदा उहाँले रचनात्मक प्रतिपक्षीकै भूमिका निर्वाह गर्दै सरकार र प्रतिपक्षी बिचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभयो। प्रदेश सभाको बाँकी रहेको दुई वर्ष अवधिमा सत्ता साझेदार दलको रूपमा नेपाली कांग्रेस सरकारमा सहभागी भयो। सत्ता साझेदार दलको नेताको हैसियतमा रहँदा नेपाली कांग्रेसबाट अरू सांसदलाई मन्त्रीको जिम्मेवारीमा पठाएर उहाँले सरकारलाई सफल बनाउन अग्रणी भूमिका निर्वाह गर्नुभयो।

वि.सं. २०७९ मा सम्पन्न संसदीय निर्वाचनमा मकवानपुर जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यमा पुनः निर्वाचित हुनु भई उहाँले आफू प्रतिको जनविश्वास फेरि पुष्टि गर्नुभयो। वि.सं. २०८२ साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा पुनः निर्वाचित हुँदै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वि.सं. २०८२ श्रावण २० गते बागमती प्रदेश सरकारको छैटौँ मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएका उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत समेत प्राप्त गर्नुभएको छ। भारत, अमेरिका, जापान, चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, कतार, संयुक्त अरब ईमिरेट्स तथा युरोपका विभिन्न देशहरूको भ्रमण गरी अनुभव सँगाल्नू भएका मुख्यमन्त्री बानियाँ सुशासनलाई केवल एक साधारण उद्घोषणा होइन, यसलाई संस्थागत सुधारको दिगो प्रक्रिया र कार्यक्रमका रूपमा नियाल्नुहुन्छ।

“राजनीति पेसा होइन, सेवा हो” भन्ने मान्यता राख्नुहुने मुख्यमन्त्री बानियाँ सुशासन, समावेशिता र आर्थिक रूपान्तरणप्रति प्रतिबद्ध हुनुहुन्छ। गरिवमुखी, आयमुखी, न्यायमुखी, सेवामुखी, जनमुखी र विकासमुखी लक्ष्य सहित मुख्यमन्त्री बानियाँ भ्रष्टाचारमुक्त, सुशासनयुक्त बागमती प्रदेश निर्माणको सङ्कल्प लिएर जनताको सेवामा क्रियाशील हुनुहुन्छ। उहाँ निजी स्वार्थको लागि कसैले काम गर्न नहुने, र कागजात-प्रक्रिया पूरा भएका कामलाई कुनै रोकावट नगरी तत्कालै सेवा प्रदान गर्नुपर्ने जस्ता सुधारात्मक रूपरेखालाई कार्यान्वयनमा उतार्ने लक्ष्य राख्नुहुन्छ। आर्थिक सुदृढीकरण, आधुनिक कृषि प्रणाली, औद्योगिक विकास, पर्यटन प्रवर्द्धन, उद्यम प्रवर्द्धन र आधारभूत पूर्वाधारमा निजी-सार्वजनिक साझेदारी (PPP) प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कार्य उहाँको प्राथमिकतामा छ। सबै वर्ग, क्षेत्र, लिङ्ग, जात, धर्म, भाषा र सम्प्रदायलाई समान अवसरको व्यवस्था, महिला, युवा सहभागिता र दुर्गम क्षेत्रलाई सुगम तर्फ पहुँच विस्तारमार्फत प्रदेशलाई दिगो विकासतर्फ डोर्याउने अधीर आकांक्षा उहाँमा सु-स्पष्ट देखिन्छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | Office of the Chief Minister and Council of Ministers – Bagamati Province